काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा मंगलबार त्यसतर्फ जाने भएका हुन् ।
नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथिको दर्जा प्रदान गर्ने परम्पराबमोजिम उनी सोतर्फ जान लागेका हुन् ।
भ्रमणको अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथिको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ ।
नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ ।