पहिलो काम, पार्टीगत हिसाबले हामीसँग नजिक रहेका विश्वभरका कम्युनिस्ट पार्टीलाई पत्राचार गर्नेछौं। उनीहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न पहल गर्छौ । स्थापना कालदेखि अहिलेसम्म कम्युनिस्ट पार्टीको बारेमा समीक्षा गर्नुपर्ने अवस्था आएको छ । नेपालमा कम्युनिस्ट पार्टीमा किन फुट आयो भन्ने बारेमा पनि विश्लेषण गर्नेछौं । विभिन्न विषयगत विज्ञहरूलाई बोलाएर कूटनीतिक विषयसँग सम्बन्धित रहेर ‘राउन्डटेबल’ गर्ने योजना छ ।
रसायनशास्त्रमा विद्यावारिधी गरेका डा. शंकर खतिवडा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को विदेश विभाग सचिव नियुक्त भएका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल विभाग प्रमुख छन् । सचिवको हैसियतले डा. खतिवडाको भूमिका विशेष रहन्छ ।
फरक शैक्षिक पृष्ठभूमिका खतिवडा पार्टीको विदेश विभाग सचिव नियुक्त हुँदाको अनुभव र आगामी कार्य योजनाबारे गरिएको कुराकानीको सम्पादित अंश :
तपाईलाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को विदेश विभाग सचिवको जिम्मेवारी पाउँदा कस्तो महसुस भएको छ ?
म रसायनशास्त्रको अनुसन्धानमा लागिरहेको व्यक्ति हुँ । यति हुँदाहुँदै पनि म कहिल्यै राजनीतिबाट बिल्कुल टाढा थिइनँ । मैले राजनीतिलाई सामाजिक र आर्थिक क्षेत्रसँग जोड्न खोजिरहेको थिएँ ।
बाहिर भूमिका नपाए पनि मैले भित्रभित्र चाहिँ काम गरिरहेको थिएँ । दुई वर्षअघि श्रीलंकाको कोलम्बोमा आयोजित एक अन्तर्राष्ट्रिय कन्फेरेन्समा म सहभागी भएको थिएँ । त्यस कन्फेरेन्सबाट पनि राजनीति, परराष्ट्रलगायत विभिन्न विषयमा राम्रो सिकाइ भयो ।
परराष्ट्र क्षेत्र मेरा लागि नयाँ हो । त्यसैले यस क्षेत्रमा काम गरिरहेका विज्ञहरूसँग सरसल्लाह गरेर अगाडि बढ्नुपर्छ । विज्ञानमा काम गरिरहेको व्यक्तिका लागि यो जिम्मेवारी यसो हेर्दा अलि नौलो जस्तै देखिन्छ
रसायनशास्त्रको विद्यावारिधि र परराष्ट्रको जिम्मेवारी अलि नमिले जस्तो भएन र ?
हैन, मलाई त्यस्तो महसुस भएको छैन्। पार्टीको विदेश विभागमा रहेर केही काम गर्न सकिन्छ भन्ने मेरो बुझाइ रह्यो र शंकर खतिवडालाई जिम्मेवारी दिँदा पूरा गर्न सक्छ भन्ने विदेश विभागको पनि मूल्यांकन रह्यो ।
त्यसो त मैले कानूनको क्षेत्रमा पनि अध्ययन–अनुसन्धान गरेको छु । मैले वकिलको लाइसेन्स लिएकाले गर्दा पनि विज्ञानभन्दा बाहिरका विषयमा पनि रुचि रहेको स्पष्ट हुन्छ ।
यसबीचमा मैले इतिहास, दर्शन, कूटनीतिसम्बन्धी किताबहरू पनि अध्ययन गरेको छु । आगामी दिनमा अध्ययनको दायरालाई अझै फराकिलो पारेर अगाडि बढ्नुपर्छ भन्ने मेरो सोच छ ।
तपाईंले एकीकृत समाजवादीको विदेश विभाग सचिवको जिम्मेवारी कसरी पाउनु भयो ?
विदेश विभाग सचिव भएर पक्कै मैले केही गर्न सक्छु भन्ने आत्मविश्वास जाग्यो । त्यसपछि मैले पार्टीको विदेश विभाग प्रमुख झलनाथ खनालज्यूसँग यस विषयमा कुराकानी गरेँ । उहाँ मप्रति सकारात्मक रहनु भयो । सोमबार काठमाडौंमा बसेको बैठकमा विदेश विभाग प्रमुखले सचिवमा मेरो नाम प्रस्ताव गर्नु भयो र सर्वसम्मतिले अनुमोदन भयो ।
मैले रसायनशास्त्रमा पिएचडी गरेपनि विदेश विभागमा रहेर मज्जाले काम गर्न सक्छु । पार्टीले यही मूल्यांकन गरेर मलाई जिम्मेवारी दिएको हुनुपर्छ ।
अब के–कस्ता काम गर्ने योजना बनाउनु भएकाे छ ?
पहिलो काम, पार्टीगत हिसाबले हामीसँग नजिक रहेका विश्वभरका कम्युनिस्ट पार्टीलाई पत्राचार गर्नेछौं। उनीहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न पहल गर्छौ । स्थापना कालदेखि अहिलेसम्म कम्युनिस्ट पार्टीको बारेमा समीक्षा गर्नुपर्ने अवस्था आएको छ । नेपालमा कम्युनिस्ट पार्टीमा किन फुट आयो भन्ने बारेमा पनि विश्लेषण गर्नेछौं । विभिन्न विषयगत विज्ञहरूलाई बोलाएर कूटनीतिक विषयसँग सम्बन्धित रहेर ‘राउन्डटेबल’ गर्ने योजना छ ।
क्षणिक स्वार्थका लागि कूटनीतिक सम्बन्धलाई बिगार्नु हुँदैन । वस्तुगत यथार्थमा रहेर राष्ट्रिय हितलाई विभिन्न मुलुकसँग कूटनीतिक सम्बन्ध अगाडि बढाउनुपर्छ । समग्रमा, कूटनीतिक क्षेत्रका विविध आयाममा रहेर काम गर्दै अगाडि बढ्नेछौं ।
राजदूत नियुक्तिमा दलीय दृष्टिकोणले गर्दा नेपालमा आलाेचना बढिरहेकाे छ, यसलाई तपाईंले कसरी लिनु भएकाे छ ?
राजदूत नियुक्तिको सम्बन्धमा विभिन्न छलफल भइरहेका छन् । कतिपयको पार्टी बाहिरका विज्ञहरुलाई राजदूत बनाउनु पर्छ भन्ने धारणा छ, अर्काथरिको पार्टी भित्रकै विज्ञहरूले उक्त पद पाउनु पर्छ भन्ने तर्क छ । यसरी राजदूत नियुक्तिलाई कसरी वैज्ञानिक बनाउने भन्नेबारे पनि छलफल गरिरहेका छौं ।
राजदूत नियुक्ति गर्दा अपनाइने मापदण्डलाई कडाइका साथ पालना गरिनु पर्छ । करिअर डिप्लोमेटका रूपमा राजदूत हुने प्रक्रिया त छँदै छ, राजनीतिक निर्णयका आधारमा गरिने राजदूत नियुक्तिलाई कसरी विश्वसनीय बनाउने भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ।