विद्युतीय बस र हेटौंडा– काठमाडौं सुरुङमार्ग संभव छैन : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारले विद्युतीय बस खरिद गर्ने र हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने योजना स्थगित  भएको बताएका छन् । 

हाल यी योजनाहरु संभव नदेखिएको भन्दै आफु नेतृत्वको बागमती प्रदेश सरकारले यस्तो असंभव योजनाहरु स्थागित गरेको उनले बताए ।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकलाई संबोधनका क्रममा पाण्डेले यस्तो बताएका हुन् । 

सडक पूर्वाधार पनि नभएको र चार्जिङ स्टेशन पनि नबनेकाले हाललाई विद्युतीय बस खरिदको योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । 

उनले अघि भने, ‘जनकपुरको रेल जस्तै त्रिपाल ओढाएर राख्ने योजना रहेछ, हामीले हाललाई यो योजना स्थगित गरेका छौं ।’

हेटौंडा–काठमाडौं सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरेको पाण्डेले बताए ।

डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ रकम छुट्याएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.