अमेरिकी सहायक विदेशमन्त्री किन आउँदैछन् नेपाल

काठमाडौं । दक्षिण तथा मध्यएसिया मामिला अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् ।

अमेरिकाले अनुदानस्वरुप दिएको एमसिसी नेपालको संसदबाट पास हुने कि नहुने भन्ने बहस भइरहेका बेला उनी नेपाल आउन लागेका हुन् ।

संसदबाट अनुमोदन गर्नुपर्ने एमसिसी पास हुन ढिलाइ भइरहेका बेला हुन लागेको लुको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । 

यसअघि प्रधानमन्त्री देउवाले स्कटल्यान्डको ग्लास्गोमा भएको कोप-२६ का क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटेका थिए। 

सोपश्चात् नेपाल फर्किएका देउवाले आफू र प्रचण्डले हस्ताक्षर गरेर एमसिसी पास गर्ने भनेर अमेरिकालाई चिठी पठाएको बताएका थिए । 

देशभर माओवादीको विरोध भएपछि अध्यक्ष प्रचण्डले सोको खण्डन गरेका छन् । उनी यही मंसिर १ गते काठमाडौं आइपुग्ने कार्यतालिका छ । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार लु माल्दिभ्सको राजधानी माले हुँदै नेपाल आउने कार्यतालिका छ । 

काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेतासँग भेटघाट गर्ने भएका छन् । अमेरिकामा जो बाइडेन राष्ट्रपति बनेपछि काठमाडौं आउन लागेका लु उच्च कूटनीतिक अधिकारी हुन्।

यसअघि एमसिसी उपाध्यक्ष फातिमा सुमारले पनि नेपाल भ्रमण गरेकी थिइन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.