विवेकशीलमा सामूहिक राजीनामा : राजीनामा दिनेहरु को-को हुन् ?

काठमाडौं । विवेकशील साझा पार्टीका १३ सदस्यले एकैचोटि राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा आइतबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।   

सचिवालय सदस्य महेश भण्डारीसहित केन्द्रीय अभियान विभाग सदस्य केन्द्रीय सदस्य दीपक पौडेल, पार्टी तथा युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, गण्डकीका प्रदेश सदस्य एवं कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं गण्डकी प्रदेश सदस्य सागर घिमिरे, युवा संगठनका केन्द्रीय सदस्य मनीषा मगर, व्यासनगर संयोजक तथा प्रदेश सदस्य सलमान अली, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भीमनारायण कोइराला, बाग्लुङ जिल्ला संयोजक सुरज श्रेष्ठ र म्याग्दी जिल्ला संयोजक विश्वराज अछामे छन् । 

‘पद्धति, पारदर्शिता, इमान्दारिता, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरु नेतृत्वको गलत कुरालाई मान्न कदापी तयार हुँदैनौं । वैकल्पिक राजनीतिलाई विवकेशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशय्यामा पुर्‍याएको हाम्रो ठहर छ, जारी विज्ञप्तिमा भनिएको छ । 

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको मागसहित दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक ध्रवीकरण देखिएको थियो ।

मिश्र पक्षको बैठकले विधान संशोधन गरी पार्टीका संयोजक मिलन पाण्डेको अधिकार कटौती गरेको छ र पाण्डे पक्ष अल्पमतमा छ । यद्यपि निर्वाचन आयोगले मिश्र पक्षको बैठकलाई आधिकारिकता दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.