विवेकशील, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण

काठमाडौं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील साझा र सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने जानकारी दिएका छन् । 

आइतबार विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले समाजिक सञ्चालमार्फत् सोको जानकारी दिएका हुन् । 

राष्ट्रिय राजनीतिमा रूपान्तरणकारी हस्तक्षेप गर्न सक्ने बृहत्तर वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने बताइएको छ । 

मिश्रका अनुसार विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई-तिहाइ बहुमतका साथ एकताको सहमतिपत्रलाई अनुमोदन गरिएको छ । 

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहने भएको छ भने रवीन्द्र मिश्र एकल कार्यकारी अध्यक्ष रहने भएका छन् । 

के हो सिटिजन्स डिसकशन फोरम भनेको ?

करिब डेढ दशकदेखि बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि नियमित रूपमा बहस चलाउँदै आएको समूह हो फाेरम। यसमा विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्ति आबद्ध छन् । 

‘राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपालीको नाम र शान’ यसको मूल नारा हो । यो समूह २०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.