काठमाडौं । सत्तारुढ कांग्रेस पदाधिकारीको बैठकले प्रदेश अधिवेशनका लागि पदाधिकारी तोकेको छ ।
आइतबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रदेश अधिवेशनका लागि पदाधिकारी तोकेको हो ।
कहिले हुँदै छ कांग्रेस प्रदेश अधिवेशन ?
कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६बाट हुँदै छ । यस्तै बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तोकेको छ ।
जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ भने २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुनेछ ।
अधिवेशन गर्नका लागि बनाइएको समितिमा प्रदेशका सम्बन्धित केन्द्रीय, सांसद, प्रदेश संसदीय दलका नेता, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पदेन सदस्य रहनेछ ।
प्रदेश महाधिवेशन सम्पन्नका लागि संयोजकको जिम्मेवारी पाउनेहरुमा प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वागमतीमा प्रकाशमान सिंह,गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडू छन् ।
कांग्रेस महाधिवेशन यही मंसिरका लागि तोकिएको छ । अहिलेसम्म कांग्रेस महाधिवेशन मिति पाँचौँ पटक तोकिएको छ ।