काठमाडौं । प्रदेश-१ सत्तारूढ गठबन्धनको बैठकले आफ्ना दलका सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ । सोमबार बसेको पाँचवटै दलको सांसदको संयुक्त बैठकले गठबन्धनमा आबद्ध सांसदहरुलाई बैठकमा अनिवार्य उस्थितिका लागि ह्विप जारी गरेको हो ।
मुख्यमन्त्री राजेन्द्र राईले भोलि प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो।
पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन्।
प्रदेशको पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेश सभामा हाल कायम संख्या ९२ छ। गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्।