सिपीको साहसले भएको नखु जेल ब्रेकमा केपीको साथ

सबै जटिलता पार गरेर ३२ दिनको निरन्तर प्रयासपछि को–अर्डिनेशन केन्द्रले २०३३ चैत १२ गते विहान साढे ३ बजे जेल ब्रेक गरेको हो । यी नेताहरुले ५६ फिट लामो सुरुङ पार गर्न चैत ११ गते बेलुका ९ बजे नै जेलभित्रको विजुलीलाई विगारिदिएका थिए ।

काठमाडौँ । कुनै राजनीतिक पार्टीको जीवनमा उसको पार्टी प्रमुख नै जेल पर्नुले कति असर गर्छ ? यो प्रश्न २०४६ साल यता खास सोधिने प्रश्नमा पर्दैन । देशको व्यवस्था नागरिकमैत्री र बहुदलीय भएकाले पनि यस्तो भएको हुन सक्छ ।

अहिले नेपालको व्यवस्था कति नागरिक मैत्री छ ? यो भने सोधिनु पर्ने प्रश्न हो । तर, कुन पत्रकारले कुन नेतालाई सोध्ने ।

यसो कि भनिएको हो, भने सोध्ने र उत्तर दिनेको बीच आजकल खास दूरी भेटिँदैन । यसो हुनु भनेको लोकतन्त्रका लागि राम्रो भने होइन ।

तत्कालीन मालेको राजनीतिक मुखपत्र ‘वर्ग संघर्ष’ अंक ५ मा भारतीय कम्युनिष्ट पार्टीका नेता चारु मजुमदारको दुई वटा छोटा सन्देश छापिएको छ । 

“बंगालको जेलमा जो क्रान्तिकारीहरु छन्, उनीहरुले संघर्षको यस्तो एउटा इतिहासको रचना गरेका छन्, जसलाई जेल जीवनमा कसैले कहिल्यै पनि देखेको थिएन...जेलबाट निस्किएर भाग्न पाउँनुलाई उनीहरुले एउटा सामान्य घटना बनाइदिएका छन् ।

दुई सय वर्षदेखि साम्राज्यवादले जेलहरुलाई शासनको सबभन्द मजबुद किल्ला बनाइरहेको थियो । दुई सय वर्षको यो बनावट आज क्रान्तिकारीहरुका अगाडि भत्किरहेको छ र साम्राज्यवादले आफ्नो महल बहुत कमजोर जगमाथि बनाएको थियो भन्ने कुरा प्रमाणित हुँदैछ । आज जेल विद्रोहका केन्द्र हुन्, र जेलका कमरेडहरु जेलबाट भागेर त्यसलाई गिज्याइरहेका छन् ।

प्रतिक्रियावादी सरकार बन्दीहरुले जेलबाट भाग्न र जेल विद्रोहलाई बन्दीहरुलाई हत्या र नृसंस अत्याचार गरेर पनि रोक्न सकिरहेको छैन, न कहिल्यै सक्नेछ । यसैकारण म जेलका कमरेडहरुलाई लालसलाम गर्छु ।”

चारु मजुमदारले लामो व्यहोरासहित लालसलाम गरेका हुन–तत्कालीन कोर्डिनेशन केन्द्रका सचिव सिपी मैनालीलाई । चारुको लालसलाम सिपी मैनालीलाई मात्र थिएन । थियो, नखू जेल विद्रोह गर्ने सिपीसहितका १५ जना वीर योद्धाहरुलाई ।

सिपी मैनाली र अन्य वीर योद्धाहरु नेपाली कम्युनिष्ट आन्दोलनका विशिष्ट व्यक्ति थिए । नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनपछि पार्टी विभिन्न समूहमा विभाजन भएको थियो । विभाजित भएको पार्टीलाई पुनर्गठन गर्ने अनेक प्रयास भएका थिए ।

पुनर्गठनको अनेक प्रयासमध्येको थियो, झापा आन्दोलन । झापा आन्दोलन उत्कर्षमा पुगेर विभिन्न संकट व्यहोरिरहेको थियो । संकटबाट नयाँ पहलकदमी स्वरुप बनेको थियो, को–अर्डिनेशन केन्द्र ।

को–अर्डिनेशन केन्द्रले भारतीय नक्सलवादी र चिनियाँ सांस्कृतिक क्रान्तिको लाइन बमोजिम क्रान्तिकारी गतिविधि बढाएपछि, तत्कालीन सरकारले सिपी मैनालीलाई गिरफ्तार गरी झापाको चन्द्रगढी जेलमा राखेको थियो । र, पछि जेल सरुवा गरेर ललितपुरको नखु जेलमा ल्याएको थियो ।

सिपीसँगै धनेन्द्र बस्नेत, नरेश खरेल, हर्क खड्का, नारद वाग्ले, भीष्म धिमाल, धर्म घिमिरेलाई पनि नखू जेलमा ल्याइएको हो ।

८३ औँ मई दिवस मनाउन पर्चा छरेको आरोपमा तत्कालीन बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले प्रदिप नेपाल, गोपाल शाक्य, माधव पौडैल, बीरबहादुर लामा, राजेन्द्र पाण्डे, सूर्य लामिछानेलाई पक्राउ गरी नखू जेलमा हालेका थिए ।

नेताहरु नखू जेलमा परेपछि को–अर्डिनेशन केन्द्रको अवस्था झन् कमजोर बन्दै गएको थियो । यो अवस्थमा जेलभित्रका कमरेडहरु मिलेर विद्रोह गरेका हुन् ।

जेल विद्रोह नेपालको राजनीतिक इतिहासमा चर्चित घटना हो । साथै यो नेपाली कम्युनिष्ट आन्दोलन निर्माणको व्यवस्थित पहलकदमी पनि हो । यदि यो नखु जेल विद्रोह हुन नसकेको भए मालेको निर्माण के हुन्थ्यो त्यो यसै भन्न सकिने छैन ।

यसबारे नेकपा मालेको २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको चौँथो महाधिवेशनमा पारित राजनीतिक दस्तावेजमा भनिएको छ कि को–अर्डिनेशन संगठनले सुरुदेखि नै प्रतिक्रियावादीहरुको क्रूर हमलाको पनि सामना गर्नु पर्‍यो ।

त्यसले संगठनभित्र अनेकौँ पटक अस्तव्यस्तता पनि ल्याइदियो । तर, २०३३ मा भएको नखू जेल तोडले संगठनभित्रको अस्तव्यस्तता र धक्कालाई चिर्न महत्वपूर्ण भूमिका खेल्यो । त्यसपछि को–अर्डिनेशन संगठन पहिलेभन्दा तीव्र रुपमा फैलिदै गयो ।

नखु जेल ब्रेकको प्रारम्भिक काम २०३३ फागुन १० गतेबाट भएको हो । यो जेल ब्रेक आफैमा कठीन काम थियो । यसका लागि जेलभित्र एक्सन कमिटी निर्माण भएको थियो । जसले कुशलतापूर्वक कार्य सञ्चालन नगरेको भए जेल ब्रेक असम्भव थियो ।

एक्सन कमिटीले जेलभित्र प्राप्त सामग्रीको प्रयोग गरेर सुरुङ खन्ने उपयुक्त ठाउँ पहिल्याएका थिए । एक्सन कमिटीले यो काम बहुत योजनावद्ध ढंगमा सम्पन्न गरेको हो ।

सुरुङ खन्न औजारहरु व्यवस्था गर्नु आफैमा चुनौतिपूर्ण काम थियो । व्यवस्थित ढंगले सुरुङको प्रवेशमार्गलाई लुकाउन बहुत कूटिल चाल रच्नु पर्ने हुन्थ्यो । जेलमा सुरक्षाको बाबजुद सुरुङ खन्ने उपयुक्त समयको निर्धारण व्यवस्थित ढंगले गर्ने गरिएको र खन्न गएका दल सदस्यलाई खोजीनीतिबाट बचाउनु पर्ने जटिलतम काम थियो । खन्दा निस्किएको चार सय मन जति माटो ढुंगा र इटाको व्यवस्थापन आलुबारीमा लगेर गरिएको ‘वर्ग संघर्ष’ अंक ५ मा उल्लेख छ । खन्दा फोहोर भएका कपडाकाे व्यवस्थापन गर्नु झनै जटिल काम थियाे ।

यी सबै जटिलता पार गरेर ३२ दिनको निरन्तर प्रयासपछि को–अर्डिनेशन केन्द्रका नेताहरुले २०३३ चैत १२ गते विहान साढे ३ बजे जेल ब्रेक गरेका हुन् । यी नेताहरुले ५६ फिट लामो सुरुङ पार गर्न चैत ११ गते बेलुका ९ बजे नै जेलभित्रको विजुलीलाई विगारिदिएका थिए ।

राजाको आगनको दुर्भेद्य किल्ला तोडेर बाहिर निस्किएका पाँच नेताहरु भने सुरक्षित भाग्न सफल भएनन् । नरेश खरेल, धनेन्द्र बस्नेत, भीष्म धिमाल, धर्म घिमिरे, नारद वाग्ले पुनः पक्राउ परेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.