काठमाडौं । नगरपालिकाको वार्षिक समीक्षाका क्रममा मेयरको धारणाभन्दा फरक धारणा राखेकै कारण एक वडाध्यक्ष बैठकबाट निकालिएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयर दीलिपकुमार राईले वडाअध्यक्षलाई गोविन्दबहादुर भण्डारीलाई बैठककक्षबाट निकालेका हुन् । सोमबार वार्षिक समीक्षा गोष्ठीका क्रममा पथरीशनिश्चरे-४ का वडा अध्यक्ष भण्डारीले पालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै मेयरसँग जवाफ मागेका थिए ।
उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरे ।
‘पालिकाभित्र अनियमितता भयो, हिसाब देखाउल भन्दा नगरप्रहरी लगाएर मलाई निकाले,’ भण्डारीले भने, ‘नगरप्रहरीले हातपात पनि गरे ।’ मेयर र नगरप्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी पनि दिएका छन् ।
वडाध्यक्ष भण्डारीका अनुसार अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एकजना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेका छन् । पालिकामा अझै अनियमितता भइरहेको उनको गुनासो छ ।