बारको आन्दोलनविरुद्ध उत्रिएकी बराल, अनसनस्थलबाट पक्राउ (भिडियोसहित)

काठमाडौं । विगत २ हप्तादेखि सर्वाेच्च अदालत अगाडि आन्दोलन चलिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरोध र समर्थनमा उत्रिएका दुई पक्षले दैनिक रुपमा आन्दोलन गर्दै आएका छन् ।

नेपाल बार एसोसिएसन र सर्वाेच्चका न्यायाधीशहरु जबराविरुद्धमा उत्रिएका बेला तारा बराल र उनको समूह भने जबराको समर्थनमा अनसन बसेका छन् । बरालले आफूलाई भ्रष्टाचारविरुद्धको अभियान्ताको रुपमा चिनाउँदै आएकी छिन् । बराल र उनका साथीहरुले आज (मंगलबार) सर्वाेच्चमा भइरहेको आन्दोलनको विरुद्धमा भद्रकालीस्थित अनसन बस्ने तयारी गरेका थिए । तर, अनसन सुरु भएको केही समयमै उनीहरुलाई प्रहरीले पक्रेको छ । सर्वाेच्चमा चलिरहेको आन्दोलनका कारण नेपाली जनताले सेवा नपाएको भन्दै बरालको समूहले अनसन बस्ने निर्णय गरेका हुन् ।

मंगलबार विहानदेखि नै बरालसहित उनका ५ जना साथी अनसन बस्न भद्रकाली मन्दिर परिसरमा तयारी गर्दै थिए । तर, नेपाल प्रहरी प्रभाग प्रदर्शनीमार्गबाट खटिएका प्रहरी निरीक्षक मोहन विक्रम केसीको टोलीले मन्दिर परिसरभित्र अनसन बस्न दिएनन् ।

बराल र उनको समूहले मुख्यतयाः २ वटा मागसहित अनसन बसेका हुन् । उनीहरुको पहिलो माग सर्वाेच्च अगाडी आन्दोलन गर्ने सम्पूर्ण न्यायाधीशहरु, बारका आन्दोलनरत वकिलहरु र पदाधिकारीहरुलाई अदालतको काम गर्न नपाउने गरी कारबाही गरी उक्त पदमा नयाँ नियुक्ति गरी अदालतको सम्पूर्ण सेवा सूचारु गरिनु पर्नेछ । यस्तै, उनीहरुको मागमा अदालत अगाडी महिलाहरुलाई हातपात गर्ने अपशब्द बोल्ने, मोबाइल खोस्ने अधिवक्ताहरुलाई कानूनी कारबाही गरी आइन्दा अदालतमा सेवा गर्न सदाका लागि रोक लगाइनु पर्ने साथै देशमा जनतामाथि यति धेरै अन्याय हुँदा वास्ता नगर्ने राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख तथा प्रधानमन्त्रीले समेत राजीनामा दिनुपर्ने छ ।
उनीहरुको दोस्रो मागमा, एमसीसी सदाका लागि पूर्ण रुपमा खारेजी गरिनुपर्ने छ ।

बराल र उनका साथीहरु यसअघि पनि सर्वाेच्च अगाडी र माइतीघर मण्डलामा पटक–पटक आन्दोलनमा उत्रिएका थिए । प्रत्येक दिनको आन्दोलनमा बरालका समूह प्रहरी नियन्त्रणमा पर्ने गरेको छ ।

मंगलबार भद्रकालीस्थित अनसन घोषणा गरेसँगै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले आफूहरुलाई शान्तिपूर्ण रुपमा अनसन बस्न समेत नदिएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

हरेक नेपाली जनताले विरोध जनाउन पाउने अधिकार छ । तर, प्रत्येक दिन नागरिक अनसनमा बस्ने हो, भने देशको शान्ति सुरक्षामा खलल आउने प्रहरी नायब केसी बताउँछन् ।

जबराको विरोध किन ?

प्रधानन्याायधीश जबराले गरेका कार्यालयले न्यायालय धुमिल बन्दै गएको भन्दै उनको राजीनामाको माग गरी कानून व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनले फैसला गरेका कतिपय मुद्दाका कारण पनि उनको राजीनामा माग गर्ने माध्यम बनेको हो । प्रतिनिधिसभा उल्ट्याएर देउवालाई प्रधानमन्त्री बनाउनु, पत्नि हत्या अभियोग लागेका सशस्त्र प्रहरीका डिआइजी रन्जन कोइरालाको सजाय कटौती गर्नु, कार्यापालिकामा भाग खोज्नु लगायतका कारण उनको राजीनामा माग गर्दै बार र सर्वाेच्च न्यायाधीशहरु अन्दोलनमा उत्रिएका हुन् ।

को हुन् तारा बराल ?

स्थायी बसोबास चितवन भएकी तारा बराल आफूलाई भ्रष्टाचारविरुद्धको अभियान्ता बताउँछिन् । उनी मानवशास्त्रका विद्यार्थी हुन् ।
उनले गत वर्ष सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर राष्ट्रिय सभा सदस्यका लागि आफू योग्य भएको भन्दै निवेदन समेत पेश गरेकी थिइन् । सोही समयदेखि उनी सामाजिक सञ्जालमा सक्रिय छिन् ।

हाल उनी जबराको समर्थनमा उत्रिदै गर्दा बारका केही सदस्यहरुले जबराले भाडामा ल्याएको समर्थक बताउँदै आएका छन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.