काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ । मंसिर १० गते उद्घाटन हुने महाधिवेशनमा उद्घाटनको दिन ५ लाख बढिलाई खाना खुवाउने तयारी एमालेले गरेको छ । उद्घाटनको दिन जिल्ला जिल्लाबाट आएका नेता कार्यकर्तालाई जिल्लाकै रोहवरमा खाना व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।
यस्तै बन्द सत्रमा रहने ३५ सय प्रतिनिधिलाई भने नेकपा एमालेले खाना र बस्नेको व्यवस्था गर्ने भएको छ । जसमा बन्द सत्रका प्रतिनिधि, पर्यवेक्षक, स्वयमसेवक, अतिथि र पत्रकार रहनेछन् । ३५ सय जनाको लागि बन्द सत्र हुने होटल सेभेन स्टारमा तीन छाक खानाको व्यवस्था गरिएको छ भने अन्य दुई छाक खाना प्रतिनिधि बस्ने होटलमै व्यवस्था हुनेछ । ११ मंसिर बिहान र बेलुका र १२ मंसिर बिहानको खाना होटल सेभेन स्टारमा उपलब्ध हुनेछ ।
नेकपा एमालेले ३५ सय प्रतिनिधि, अतिथि, स्वयमसेवक र पत्रकारको लागि बेड बुक गरिसकेको जनाएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन शुरु भएर ११ र १२ मंसिरमा सौराहाको होटल सेभेन स्टारमा बन्द सत्र हुनेछ ।
१० मंसिर बेलुकी एमाले अध्यक्ष केपी ओलीको तर्फबाट विशेष खानाको व्यवस्था गरिएको छ । १२ मंसिर बेलुकीको खाना महाधिवेशन प्रतिनिधि बस्ने होटलमै व्यवस्थापन हुनेछ । उक्त खानाको परिकार तयार पार्नका लागि सोल्टी र हायात होटलबाट अनुभवी सेफ ल्याउने तयारी एमालेले गरेको छ ।
हरेक छाकमा खसीको मासु, कुखुराको मासु र माछा हुनेछ । पहिलो छाकमा सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूल रहने छन् ।
दोस्रो छाकमा सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरुम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँदेको र सवुदाना हुने छ।
