साझासँगको एकीकरण गलत साबित भयो : पाण्डे

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझा पार्टीसँग गरिएको एकीकरण गलत साबित भएको स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एकीकरण गल्ती भएको बताएका हुन् ।

सोमबार कर्म लामा तामाङको समुहले निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी दर्ता गराएका थिए । नयाँ पार्टीलाई बधाई दिँदै पाण्डेले आफूसहित पूर्व अध्यक्ष उज्वल थापाले देखेको सपना यो पार्टीले साकार पार्नेमा विश्वस्त रहेको बताएका छन् ।

गत मंसिरमा विवेकशील र साझा पार्टीबिच एकीकरण हुँदै गर्दा विवेकशीलका कर्म लामा तामाङ लगायत १३ जना एकीकरण प्रक्रियामा सहभागी भएका थिएनन् । हाल आएर उक्त सामुहिक निर्णय सहि साबित भएको उनले बताएका छन् । उनले लेखेका छन्, ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्काे पक्षको विश्वास गर्न सकिदैन भन्नुभएको थियो । दस्ताबेजमा यहि शब्द किटान गर्न भन्नु भएको थियो । त्यहाँ तपाइहरु सही साबित हुनुभयो ।'


उनले नयाँ पार्टीलाई शुभकामना दिँदै लेखेका छन्, 'तपाइहरुलाई शुभकामना । राम्रो गर्नुहोस् । छिट्टै अभियानमा भेट हुने नै छ ।' उनले साङ्गठनिक रुपमा पनि सँगै हुने बताएका छन् ।
तामाङको अध्यक्षतामा गठन भएको नेपाल विवेकशील पार्टीमा २१ सदस्यीय तदर्थ संघीय समिति रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.