काठमाडाैँ । नेकपा एमालेका नेता सुवास नेम्वाङले आगामी १० औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेम्वाङ अहिले एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेताकाे जिम्मेवारीमा छन् । एमालेकाे १० औँ महाधिवेशन यही १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
महाधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयन हुने बताइरहँदा उनले आफ्नो उम्मेदवारी वरिष्ठ उपाध्यक्षमा रहने बताएका हुन् । मेरो सर्वसम्मत गरौँ भन्ने जोड छ तर, सर्वसम्मत भएन भने साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिनै पर्यो । उनले भने 'अहिलेसम्म साथीहरुको सल्लाह तपाईंले वरिष्ठमा उम्मेदवारी दिनुपर्छ भन्ने छ । अब साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिन्छु ।' १० औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल पनि आकांक्षी देखिएका छन् ।
महाधिवेशनमा अध्यक्ष पदमा भने भिम रावलले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले यस पटक अध्यक्षमा आफूलाई सहयाेग गर्न केपी ओलीलाई आग्रह गरेका थिए । तर महाधिवेशनमा केपी ओलीकाे विकल्प नरहेकाे भनी नेताहरुले अभिव्यक्ति दिँदै आएका छन् ।