काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले १०औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वमा केपी ओली नै आउने दावी गरेका छन् । नेपालको पछिल्लो राजनीतिक अवस्थालाई सुधार्न र जनअपेक्षा अनुसार समृद्ध नेपाल निर्माणका लागि बलियो नेतृत्व आवश्यक पर्छ त्यसको लागि केपी ओली बाहेक अरुको विकल्प नभएको ज्ञवालीले बताएका छन् ।
युवा संघको साइवर सर्कल घोषणा कार्यक्रममा बोल्दै ज्ञवालीले एमालेमा नेतृत्व खोज्ने बेला नभएको बताए । 'नेकपा एमाले राष्ट्रवादी शक्ति हो । समृद्ध नेपालको परिकल्पनाकार हो । विकासको संवाहक हो । त्यसको लागि सक्षम नेतृत्वको आवश्यक पर्छ । त्यसैको लागि अध्यक्ष ओली नै अबको पनि अक्ष्यक्ष निर्विकल्प हुन् ।'
'एमालेविरुद्ध गठबन्धनको घेराबन्दीमा रहेको अवस्थालाई तोड्न सक्ने साहस नेकपा एमालेले प्राप्त गर्छ त्यसको नेतृत्व अध्यक्ष ओलीले लिनुहुन्छ । हामी यो अभियानमा सँगै उभिनेछौं,' नेता ज्ञवालीले भने । यता नेता भीम रावलले नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
यो पटक एमालेले निर्वाचनका लागि प्यानल बनाउन बन्देज गरेको छ । पदाधिकारीको लागि व्यक्तिगतरुपमा प्रतिस्पर्धा हुनेछ भने केन्द्रीय सदस्यका लागि क्लष्टर अनुसार निर्वाचन हुनेछ ।