यूथ फोर्सका संयोजक क्षितिज थेवे महाधिवेशन प्रतिनिधिमा मनोनित

काठमाडौं । नेकपा एमालेको बुधवार बसेको स्थायी कमिटी बैठकले १ सय ६ जना महाधिवेशन प्रतिनिधि मनोनित गरेको छ । कूल प्रतिनिधिको ५ प्रतिशतसम्म मनोनित गर्न पाउने व्यवस्था विधानमा उल्लेख छ । सोही अनुसार नेकपा एमालेले बुधवार १ सय ६ जना प्रतिनिधि मनोनित गरेको हो ।

भूगोल, विशेष कमिटी र जनवर्गिय संगठनबाट छुटेका र आवश्यक केही नेताहरुलाई नेकपा एमालेले प्रतिनिधि मनोनित गरेका हुन् । यसै क्रममा राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एंव यूथ फोर्सका केन्द्रीय संयोजक क्षितिज थेवे ताप्लेजुङबाट प्रतिनिधि मनोनित भएका हुन् ।

युवा संघबाट केन्द्रीय अध्यक्ष किरण पौडेल, कान्ति बुर्लाकोटी, उपाध्यक्ष अञ्जना अधिकारी, उपाध्यक्ष एंव युथ फोर्स सह–संयोजक पुष्प श्रेष्ठ र महासचिव रमेश आचार्य प्रतिनिधि चयन हुँदा क्षितिज थेवे छुटेका थिए ।

यस्तै युवा संघ नेपालका उपाध्यक्ष अमित लामा पनि प्रतिनिधिमा मनोनित भएका छन् । उनी काभ्रे जिल्लाबाट प्रतिनिधिमा मनोनित भएका हुन् । महाधिवेशनका लागि युवासंघबाट प्रतिनिधिको संख्या १० पुगेको छ ।

जसमा नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट युवा संघका उप–महासचिव रामजी सापकोटा, कालिकोटबाट वकिल बम, धादिङबाट दीपक खतिवडा प्रतिनिधिको रुपमा चयन भईसकेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.