काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनु पर्ने बताएका छन् । शुक्रबारबाट सुरु भएको नेकपा एमालेको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्न चाहेको बताउँदै उनले भने-‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको हाम्रो भूगोल हामीले नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ । हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ ।’
अध्यक्ष ओलीले अब विश्व सहकार्यका साथ अघि बढ्नुपर्ने समय रहेको बताए । ‘हामी सबैसँग समदूरीको सम्बन्ध चाहन्छौँ । ठूला–साना, गरिब–धनी, जनसंख्यामा जे भएपनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ, सबैले सबैलाई समान हिसाबले लिनुपर्छ । एमाले यस्तो समानतामा विश्वास राख्दछ ।’ ओलीले भने ।