काठमाडौं । नेकपा एमालेमा पदाधिकारीमा सहमति जुट्न सकेको छैन । १४ औँ महाधिवेशनबाट अध्यक्ष ओली अध्यक्ष बन्ने निश्चित जस्तै भए पनि भीम रावलले उनलाई चुनौती दिइरहेका छन् ।
त्यति मात्रै नभएर एमालेको विधानको धारा ६४ ले नै ओलीलाई पुन: अध्यक्ष पदमा उम्मेदवारी दिन रोक लगाएपछि रातारात विधान फेरिएको भनी आलोचना भइरहेको छ ।
नेकापा एमालेमा एकल टावरको रुपमा स्थापित ओली पछिल्लो समय पदाधिकारीमा कसलाई चयन गर्ने भन्ने विषयका कारण सकसपूर्ण अवस्थामा छन् ।
वरिष्ठ उपाध्यक्षमा दाबी गरेका ईश्वर पोखरेल र सुवास नेम्वाङमध्ये ओलीले वरिष्ठ उपाध्यक्षमा पोखरेललाई छनोट गरेका छन् । त्यसैगरी, अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी नेम्वाङलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् ।
नेम्वाङलाई उपाध्यक्षमा प्रस्ताव गरेसँगै आदिवासी जनजाति प्रतिनिधिहरुले नेम्वाङलाई प्रतिस्पर्धाबाट नबाहिरन भन्दै दबाब दिन थालेका छन् ।
यस्तै ओलीले महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् । अर्का दावेदार विष्णु पौडेललाई उपाध्यक्षमा बस्न आग्रह गरेका छन् । तर, पौडेल सहमत भइसकेको छैन । १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुको समेत आफूलाई समर्थन गरेको भन्दै उनी पोखरेललाई महासचिव छाड्न तयार भएका छैनन् ।
वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति गर्न सकस भएपछि ओलीले अध्यक्षमा उम्मेदवारी दिने अडानमा रहेका रावलसँग सम्वाद गर्न भ्याएका छैनन् ।