दशौं महाधिवेशन सहमतिमै टुङ्ग्याउन सक्लान त ओलीले ?

काठमाडौं । शनिबारको बन्द सत्रबाट पदाधिकारी र केन्द्रीय सदस्यको नामवली प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी ओलीले पाएसँगै उनीसँग भेट गर्न नेताहरुको लाइन लागेको छ ।

केही नेताले भने ओलीले पाएको जिम्मेवारीप्रति असन्तुष्ट व्यक्त गरेका छन् । ठूलो जमात ओलीको पक्षमा रहेतापनि पदाधिकारी मिलाउन भने ओलीलाई असहज परेको छ ।

आइतबार सहमतिबाटै नामवली प्रकाशन गर्ने तयारीमा रहेका ओलीले मध्य दिनसम्म पनि कुनै निर्णय गर्न सकेका छैनन् ।

अध्यक्ष पदको दाबी गर्दै आएका उपाध्यक्ष भीम रावल मतदान प्रक्रियामा जाने तयारीमा जुटेका छन् ।

ओली छलफलमा व्यस्त हुँदै गर्दा रावल भने आफू निकट कार्यकर्तालाई पर्च बाँड्न लगाउने र भोट माग्ने काममा जुटेका छन् । उनको यो गतिविधि अनुसार उनी जुनसुकै हालतमा पनि मतदान प्रक्रियामा जाने देखिएको छ ।

ओली निकट केही नेता भने ओलीको अध्यक्षतामा महाधिवेसन टुङ्ग्याउनुपर्नेमा जोड दिँदै आएका छन् । ओली बाहेक अन्यलाई अध्यक्ष नमान्नेमध्ये नेकपा (एमाले) का नेता सुवास नेम्वाङ पनि हुन् । उनले भने वरिष्ठ उपाध्यक्ष पदको दाबी गरेका छन् ।

बन्द सत्रले दिएको ओलीको जिम्मेवारीप्रति असन्तुष्ट जनाउने अर्का नेता हुन् उपमहासचिव घनश्याम भुसाल । भुसालको असन्तुष्टबारे बुझ्न ओलीले उनीसँग छलफल गर्न नखोजेका पनि होइन । विधि र विधानलाई टेकेर अघि बढ्ने भइसकेपछि अध्यक्ष भेट्दै हिँड्न आवश्यक नभएको भन्दै उनले ओलीसँग भेट्न मानेका छैनन् ।

उनले दशौं महाधिवेसनमा उपाध्यक्ष पदका लागि दाबी गरेका छन् । उनी पनि आफ्नो यस निर्णयप्रति अडिग भएर बसेका छन् ।

आफू निकट नेताहरुले एउटै पदका लागि दाबी गरिरहँदा ओलीलाई भने पद व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । जसका कारण आइतबार अपरान्हसम्म पनि निर्वाचनका लागि बन्द सत्र सुरु हुन सकेको छैन ।

उनी निकट नेता सुवास नेम्वाङ र इश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । साथै महासचिवमा भने विष्णु पौडेल र शंकर पोखरेलको दाबी रहेको छ । यसकारण पनि ओलीले सहमति जुटाउन सकेका छैनन् । यता पूर्व माओवादी नेताको व्यवस्थापनको पाटो छुट्टै छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.