राप्रपामा प्रतिनिधिको किचलो, अन्यौलमा महाधिवेशन

काठमाडौं । राप्रपा प्रतिनिधिको विवाद टुंगिन नसक्दा राप्रपा महाधिवेशन अन्योलमा परेको छ । अध्यक्ष कमल थापा र अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देन पक्षबीच महाधिवेशन प्रतिनिधिलाई लिएर दुई दिनदेखि विवाद छ।

विवाद मिलाउन नसक्दा कार्यतालिका प्रभावित भएको हो । उद्घाटनको कार्यक्रम अगाडि नै मतदाता नामवली प्रकाशनको टुंगो लगाइने भनिएता पनि दुबै पक्षको विवाद नटुंगिँदा बुधबार रातिसम्म मतदाता नामावलीको टुंगो लाग्न् सकेन ।

बिहीबार बिहानदेखि नै दुबै पक्षबीच छलफल भए पनि महाधिवेशन प्रतिनिधिबारे अन्तिम टुंगो लागिनसकेको एक नेताले क्विक नेपाललाई जानकारी दिए ।

जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिको सूची अध्यक्ष थापाको निर्देशनमा हेरफेर गरेको आरोप लिङ्देन पक्षका नेताले लगाइरहेका छन्। त्यो विवाद मिलाउन दुई दिनदेखि दुबै पक्षले छलफल गरिरहेका छन्।

राप्रपाले ३ सय ३० प्रदेश सभा स्थानीय तहबाट महाधिवेशन प्रतिनिधि चुनेर ल्याएको छ। महिला, दलित, अल्पसंख्यकलगायत हरेक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा समेट्नुपर्ने थियो।

तर कतै दलित र कतै अल्पसंख्यकका प्रतिनिधि खाली थिए। लिङ्देन पक्षका नेताले जिल्लाबाट खाली आएका प्रतिनिधिमा थापा पक्षले आफूखुसी नाम थपेको आरोप लगाएका छन्।

जिल्लाबाट आएको सक्रिय सदस्यता संख्या र महाधिवेशन प्रतिनिधिसमेत हेरफेर भएको गुनासो राप्रपामा छ।  राप्रपामा ४ हजार बढी प्रतिनिधि छन्। तर, सबै प्रतिनिधिको नामावली प्रकाशन नभएपछि महाधिवेशनको कार्यतालिका धकेलिने भएको छ।

मतदाता नामावलीको विषय टुंग्याउन निर्वाचन समितिले पाँच सदस्यीय समिति गठन गरेको छ। त्यो समितिले विवाद टुंग्याउने प्रयास गरिरहेको निर्वाचन समितिले बताएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.