काठमाडौं । सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीश विवाद समाधान भएको छ ।
कोरोना संक्रमण भई हस्पिटल बसेका राणा शुक्रबार डिस्चार्ज हुने भएपछि न्यायालयमा देखिएको कायममुकायम प्रधानन्यायाधीश चुन्ने विवाद समाधान भएको हो ।
बुधबार कानुन व्यवसायीले कायममुकायम प्रधानन्यायाधीशबारे प्रश्न उठाएपछि इजलास प्रभावित भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार डिस्चार्ज हुने जानकारी गराएपछि कायममुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुंगिएको छ । बिहीबार पेसी नतोकी सर्वोच्च अदालतका न्यायाधीश आन्तरिक छलफलमा बसेका थिए ।
बैठकबाटै न्यायाधीश हरिकृष्ण कार्कीले सबै न्यायाधीशको तर्फबाट प्रधानन्यायाधीश जबरालाई टेलिफोन गरेका थिए । बिहीबार पनि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेपछि पेसी तोक्न ढिलाइ भएको थियो । बिहीबार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकलसहित १० वटा इजलास तोकिएको छ । बिहीबार न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्नेछन् ।
संविधानको धारा १२९ (६) मा ‘प्रधानन्यायाधीशको पद रिक्त रहेमा वा प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेमा वा नेपाल बाहिर गएका कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्ने’ व्यवस्था छ ।