काठमाडौं । बुधबारबाट सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नायिका रेखा थापाले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेकी छिन् । थापाले अध्यक्ष पदका उम्मेद्वार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेकी हुन् ।
राप्रपाको विधान अनुरुप ६ जना महामन्त्री मध्ये १ जना महिला अनिवार्य निर्वाचिन हुनुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार थापाले महिला कोटामा आफ्नो उम्मेद्वारी दिन लागेकी हुन् ।
माओवादी पार्टीबाट राजनीतिक यात्राको प्रारम्भ
वि.स. २०६७ सालमा नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को हातबाट टिका लगाएर अभिनेत्री रेखा थापा माओवादी प्रवेश गरेकी थिइन् । माओवादी पार्टी प्रवेशसँगै थापाको राजनीतिक यात्रा सुरु भएको थियो ।
माओवादीले दोस्रो संविधानसभा निर्वाचनमा थापालाई पर्साबाट चुनाव लडाउन तयारी गरेपनि मतदाता नामवलीमा उनको नाम नै थिएन । जसका कारण उनले समानुपातिक तर्फको उम्मेद्वारीको टिकट पाएकी थिइनन् ।
माओवादी पार्टीको किचलो र पुष्पकमल दाहल पुत्र स्वर्गीय प्रकाश दाहालसँग राजनीतिक सम्बन्धमा दरार आएपछि उनी माओवादीमा निष्क्रिय भइन् ।
राप्रपामा प्रवेश
माओवादी सँगको ६ वर्षे यात्रा टुङ्याउँदै रेखाले वि.स.२०७३ मा राप्रपाका अध्यक्ष कमल थापाको विचार मन पर्यो भन्दै राप्रपा प्रवेश गरेकी थिइन् । तत्कालीन समयमा अध्यक्ष कमल थापाले पार्टी प्रवेश पत्रसहित माला लगाएर अभिनेत्री थापालाई पार्टीमा प्रवेश गराएका थिए ।
उनलाई राप्रपामा गायिका कोमल वलीलेसँगै प्रवेश गराएकी थिइन् । पार्टी प्रवेशको क्रममा आफू हिन्दू नारी भएकोले राप्रपा पार्टी रोजेको उनले वक्तव्य दिएकी थिइन् । तर पार्टी प्रवेश गरेपनि उनी खासै सक्रिय भएर लागेकी थिइनन् ।
उनीसँगै राप्रपा प्रवेश गरेकी नेतृ एवम गायिका कोमल वाली राप्रपा परित्याग गरी एमाले प्रवेश गरेकी थिइन् । केही दिनअघि सम्पन्न एमालेको दशौं महाधिवेशनबाट ओली केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
रेखा भने राप्रपा महाधिवेशनको पूर्व सन्ध्यासम्ममा निस्क्रिय जस्तै थिइन् । राप्रपाको महाधिवेशन नजिक भएपछि भने रेखा सक्रिय देखिन थालेको हो । अध्यक्ष पदका प्रत्यासी राजेन्द्र लिंदेनको उम्मेद्वारी घोषणा कार्यक्रममा पनि उनी सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा लिङ्देनको समर्थनमा उत्रिदा थापाको साथ छोडेको भन्न नमिल्ने रेखाले बताएकी थिइन् ।
अभिनेत्री थापाले आफूलाई शसक्त नेतृको रुपमा उतार्न खोजेपनि अहिलेसम्म सकेकी छैनन् । राप्रपामा नयाँ अनुहारको खोजी र नयाँ पुस्तामा पार्टी जानुपर्ने माग भइरहँदा त्यता फाइदा हुने देखिएपछि अभिनेत्री थापा लिङदेनको प्यानमा पुगेकी हुन् । त्यतिमात्र हैन लिङदेनकै प्यानबाट उनी महामन्त्रीको दावेदारको रुपमा देखिन सफल भइन् ।
नेपाली चलचित्र जगतमा आफ्नै पहिचान स्थापित गर्न सफल बनेकीरेखाले राजनीतिमा आफुलाई कसरी स्थापित गर्छिन् त्यो भने राप्रपाको जारी महाधिवेशनले टुंगो लगाउने छ । महलिावादी बन्न रुचाउने थापाले आफुलाई महामन्त्रीको रुपमा प्रस्तुत गरिरहँदा त्यति सजह भने छैन ।
पार्टी परिवर्तनको आरोप र पार्टीमा कम सक्रियताको कारण उनलाई चूनाव जित्न फलामको चिउरा चपाउनु सरह हुने नै छ । चर्चित अभिनेत्री नै उनको आधार हो । सो आधारमा उनी राप्रपाको महामन्त्रीमा चयन हुन सक्ने नसक्ने महाधिवेशनले टुंगो लगाउने छ ।
उनीसँगै राप्रपामै निरन्तर सक्रिय हुँदै आएकी नेतृ कुन्ती शाह पोखरेल महामन्त्रीको दावेदारको रुपमा प्रस्तुत भएकी छिन् । उनी निवर्तमान अध्यक्ष कमल थापाको प्यानलबाट महामन्त्रीको उम्मेद्वारको रुपमा अघि सरेकी हुन् । राजनीतिमा खारिएकी पोखरेल अभिनेत्री थापको लागि चुनौति बनेको छ ।
सम्भावना कति ?
अभिनेत्री रेखा थापा महामन्त्री सम्भावना बलियो छ । तर पनि उनलाई चुनौति भने पक्कै छ । निवर्तमान अध्यक्ष कमल थापाको प्यानलमा पर्न नसक्दा थापालाई पहिलो चुनौति आइपरेको छ । देशैभर सञ्जाल बनाएको अध्यक्ष कमल थापा राप्रपाको प्रतिनिधिको रुपमा देखिने केन्द्रीय पात्र हुन् । उनीसँगै सांसद राजेन्द्र लिङदेनले पनि अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
पर्टीभित्र राजेन्द्र लिङदेनको लिगेसीको फाईदा रेखा थापालाई हुने हो भने चर्चाको आधारमा अभिनेत्री थापा महामन्त्री बन्ने बलियो सम्भावना रहन्छ । अन्यथा उनलाई निकै हम्मे हम्मे हुनेछ । किनकी राप्रपामै आफ्नो करिअर खर्चेकी कुन्ती पोखरेल उनको प्रतिस्पर्धामा छिन् ।
सामाजिक अभियन्ता र सेलेब्रेटीभन्दा पनि पार्टीमा राजनीतिक व्यक्तित्वकाे आवश्यक महसुस गर्दा कमल थापा र राजेन्द्र लिङदेन दुबैको प्यानलमा रहेका प्रतिनिधिहरुले राजनीतिक व्यक्तिकै आवश्यकतामा प्रतिनिधि खोज्दा कुन्ती बलियो पात्रको रुपमा देखिन्छन् ।