काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भृकुटीमण्डपमा मंसिर १५ गतेदेखि जारी छ । महाधिवेशन तीन दिनसम्म चल्नेछ । हिजो उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायत शीर्ष राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दै एकता महाधिवेशनको शुभकामना दिएका थिए ।
राप्रपामा हाल तीन जना अध्यक्ष छन् । कमल थापा, पशुपति शमशेर र प्रकाशचन्द्र लोहनी । यो महाधिवेशनबाट एक अध्यक्ष चयन हुनेछन् ।
उक्त पदको लागि निर्वतमान अध्यक्ष कमल थापा र युवा नेता राजेन्द्र लिङ्देन प्रतिस्पर्धा गर्दै छन् । यी दुईमा को बन्लान् अध्यक्ष यो यसै भन्ने स्थिति छैन । दुवैले आफैले जित्ने आधार बलियो भन्दै दाबी गरिरहेको छन् ।
नेपालको सन्दर्भमा फरक राजनीतिक विचार बोकेको पार्टी राप्रपा एकताको महाधिवेशनमा केन्द्रित बनेको हो । महाधिवेशनमा पुरानो र नयाँ पुस्ता भिडन्तमा छन् ।
पटक–पटक विभाजन र एकता गर्दै आएका उनीहरूको दलले यस पटकको महाधिवेशनलाई एकताको महाधिवेशन भनेका छ । तीन वर्ष अध्यक्ष भएर पार्टीको नेतृत्व गरेका थापा र राप्रपाको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्ने भन्दै लिङ्देन पक्ष चुनावी मैदानमा उत्रिएका छन् ।
दुई अध्यक्षबीच टक्कर भएपछि वरिष्ठ नेताहरू पनि दुई खेमामा खुलेरै लागेका छन् । थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा लगायतको साथ छ ।
लिङ्देनलाई डाक्टर प्रकाशचन्द्र लोहनी, धवल शमशेर राणा लगायतको साथ छ । तीन पटक अध्यक्ष भएका कमल थापालाई पुराना पुस्ताको साथ रहँदा लिङ्देन युवा पुस्तामा लोकप्रिय छन् । तर, अर्का अध्यक्ष पशुपति शमशेर राणा कतै खुलेका छैनन् । स्रोतको अनुसार उनी निकट नेताहरू युवा पुस्तालाई अघि सार्नुपर्ने भन्दै अधिकांश लिङ्देनको पक्षमा उभिएको भनिएको छ ।
महाधिवेशनबाट पदाधिकारीमा १ अध्यक्ष, १ महिलासहित ३ उपाध्यक्ष, १ महिलासहित ३ महामन्त्री चयन गर्ने गरी विधान संशोधन गर्न लागिएको छ ।
राप्रपाको एकता महाधिवेशनले पहिलो पटक निर्वाचनबाट पदाधिकारी चयन गर्न लागेको बताइएको छ ।
महाधिवेशनमा ४ हजार ५ सय ६० प्रतिनिधिको सहभागिता छन् । संघीयता खारेजी, हिन्दू राज्य र राजतन्त्रको पक्षमा उभिँदै राप्रपाका २ अध्यक्ष यही एजेण्डा बोकेर अधिवेशनमा होमिएको छ ।
महाधिवेशन प्रतिनिधिको विषयमा राप्रपाभित्र विवाद भएको छ । संस्थापन पक्षले जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिको सूचीमा हेरफेर गरेको भन्दै लिङ्देन पक्षले विरोध जनाएको छ ।
मंगलबार राति संस्थापन पक्षले प्रतिनिधि हेरफेर गरेको भन्दै लिङ्देन समूहले पार्टी कार्यालय घेराउसमेत गरेको थियो ।
वर्तमान अध्यक्ष थापा र महामन्त्री लिङ्देन दुवैले आफ्नो जित सुनिश्चित भएको दाबी प्रस्तुत गरिरहेका छन् ।
टुटफुटबाट आएको राप्रपा २०६२/०६३ को आन्दोलनपछि पशुपति शमशेर नेतृत्वको राप्रपा र सूर्यबहादुर थापा नेतृत्वको दलले गणतन्त्र र धर्मनिरपेक्षता जस्ता विषय स्वीकार गरेका थिए ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको मुद्दा अघि सार्दै २०६४ को संविधान सभाको निर्वाचनमा सहभागी भयो ।
निर्वाचनमा तीन पार्टीको जम्मा १७ सिट प्राप्त भएको थियो । फेरि शक्तिशाली बन्ने भन्दै फुटेका राप्रपा मिल्ने तयारी लागेका हुन् ।
तीनवटै राप्रपाबीच एकताका प्रयास भएपनि त्यसले सार्थक रूप लिन पाएन । त्यसपछि विचार मिल्नेको एकता भन्दै राप्रपासँग मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो ।
एकता हुने, भंग भइहाल्ने, फेरि एकता र बीच–बीचमा समूहरूबीच विशेष महाधिवेशन भइरहने गरेकाले राप्रपाको यो महाधिवेशन कति औं हो, भन्नेसम्म पनि नेताहरूले एकिन गर्न सकेका छैनन् ।
एकता महाधिवेशन भनिए पनि पछिल्लो पटक कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेका तीन पार्टी मिलेर एक भएको राप्रपामा एकताको भाव भने यसपटक पनि देखिएको छैन ।
पार्टीभित्र विचारमा पनि विविधता हुन सक्छ । तर, साधना र ध्येयमा भने एकताको भाव जरुरी हुन्छ । राप्रपा त्यही एकताको भावबिना यसपटक महाधिवेशनमा होमिएको छ ।
थापाले तीन टुक्रा भएर फेरि जोडिएको राप्रपालाई यसपटक फुट्न नदिने ‘गीता समाएर’ कसम खाएका छन् । राप्रपा थापा समूहले पार्टीको दोस्रो महाधिवेशन २०५५ सालमा वीरगञ्जमा गरेको थियो । सूर्यबहादुर थापा पुनः अध्यक्ष बने । थापाले डा. लोहनी, राणा र कमल थापालाई क्रमशः उपाध्यक्ष, महासचिव र प्रवक्तामा बनाएका थिए ।
२०५६ सालको चुनावको मुखमा थापालाई हटाएर गिरिजाप्रसाद कोइराला दोस्रो पटक प्रधानमन्त्री बने । राजाले सत्ता आफ्नो हातमा लिएपछि थापाले त्यसको सार्वजनिक विरोध गरे ।
चन्द चुप बसे भने कमल थापाले राजाको कदमको स्वागत गरे । पछि कमल थापा राजाको मन्त्रीमण्डलमा गृहमन्त्री बने । २०६२÷६३ को दोस्रो जनआन्दोल हुँदा उनी गृहमन्त्री नै थिए ।
जनआन्दोलन सफल भएपछि राजतन्त्रको हिमायतीका रूपमा कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरे । २०६४ सालको संविधानसभा निर्वाचनमा उनको दलले समानुपातिक तर्फ जम्मा ४ सिट जित्यो । प्रत्यक्षतर्फ १ सिट पनि जित्न सकेन ।
सूर्यबहादुर थापा र पशुपति शमशेर नेतृत्वका दलले एक सिट जितेनन् । २०७० को चुनावमा राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राणा) एकै ठाउँ भएर चुनावमा होमिए ।
कमल थापाको पार्टी एक्लैले समानुपातिक निर्वाचन मार्फत् २५ सिट जितेको थियो । थापा र राणाको पार्टीले समानुपातिक तर्फ १२ सिट जितेका थिए ।
यसपछि फेरि २०७३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले उनीहरूको एकीकरणको घोषणा गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम कायम गरेर एकता गर्दा संविधानसभा–२ मा नयाँ पार्टीको ३७ सिट थियो ।
पार्टीको चुनाव चिन्हमा मतभेदका कारण दल पुनः विभाजित भयो । लोहनीले २०७३ चैतमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को गठन गरे । पशुपतिशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) गठन गरे ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा राणा र लोहनीको पार्टीले एक सिट ल्याएन । कमल थापाको राप्रपाले भने प्रत्यक्षतर्फ एक सिट जितेको थियो, जसमा राजेन्द्र लिङ्देन मात्र निर्वाचित भएका थिए ।
समानुपातिकमा भने तीन प्रतिशत मतको ‘थ्रेस होल्ड’ पार गर्न नसकेपछि एउटा सिट पनि पाएन र राप्रपा राष्ट्रिय पार्टी बन्न सकेन ।
त्यसपछि फेरि पूर्वपञ्चहरू एकतामा गए । राष्ट्रिय प्रजातन्त्र पार्टी २०७६ फागुनमा कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहानी अध्यक्ष हुँदै एकै दलमा समाहित भएका हुन् ।
विगतसँग तुलना गरेर कमल थापा र लिङदेनको उम्मेद्वारीको समीक्षा गर्ने हो, भने एमालेको १० औं महाधिवेशनमा केपी ओलीको सामु भीम रावलका हालत जस्तो नहोला भन्न सकिन्न ।
वर्तमान समयमा पनि कमल थापा राप्रपाको तीन अध्यक्ष भएपनि पार्टीको सम्पूर्ण जिम्मेवारी थापाले नै वहन गर्ने गरेका छन् । पार्टीको नेतृत्व गरेर कुनै कार्यक्रममा सहभागी हुन होस् चाहे अरु जुनसुकै पार्टीको भूमिका निर्वाह गर्न होस् ।
पछिल्लो समयमा एमालेको १० औँ महाधिवेशनमा पनि उनी नै सहभागी भएका थिए, राप्रपाको प्रतिनिधित्व गर्दै । अन्य दुई अध्यक्ष हुँदा हुँदै पनि पार्टीले उनलाई पठाएको थियो । यसबाट पनि के प्रष्ट हुन्छ, भने पार्टीभित्र थापाको राम्रो प्रभाव छ ।
पार्टीभित्र उनको बोल्ने शैली, भाषण कलाको पनि राम्रो प्रशंसा हुन्छ । ‘अध्यक्ष थापा ज्युलाई भगवानले नै बोल्ने कला दिएको छ ।’ शमशेर निकट एक नेताले क्विक नेपालसँग भने ।
उनी मात्रै होइनन् । अरु पनि थुप्रै छन् पार्टीभित्र उनको प्रशंसा गर्ने । जसका कारण उनले जित्न सक्ने बलियो आधार छ । शमशेरले पनि उनलाई नै सहयोग गर्ने सम्भावना छ । लिङ्देन पक्षधरले हामीलाई सहयोग गर्नु हुन्छ, भनेर दाबी गरेता पनि शमशेरले भने मुख नखोल्नु आधार मान्न सकिन्छ ।
कमल थापाको छेउमा लिङ्देन एक संसद सदस्य मात्र हुन् । उनको वरियताको तुलनामा कमल थापा निकै अगाडि छन् । लिङदेन लोहनी र धवलशमशेर राणाको आधार र बलबुतामा अध्यक्षमा होमिएका हुन् ।
केन्द्रीय सदस्य र मनोनित गरी करिब ५ हजार प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व छान्ने छन् । प्रदेश नं. १ मा विजयी नेता कमल थापा खेमाका हुन । प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशका विजयी पशुपति शमशेर खेमाका हुन् । उनको समूह यहाँ बलियो छ ।
गण्डकी प्रदेशमा नयाँ पुस्ता हावी भएको छ । बाँकी रहेका प्रदेशमा कमल थापाको पक्ष विजयी भएको देखिन्छ । प्रदेश र जिल्लाको अङ्क गणित हेर्ने हो, भनेपनि सोझै कमल थापाले जित्ने सम्भावना छ ।
युवा पुस्ता लिङ्देन र पुराना पुस्ता थापाको पक्षमा उभिएका छन् । पार्टीभित्र पुरानो पुस्ताको नै बाहुल्यता हुनुपनि थापाको अर्को जित्ने आधार हो ।
अन्य पार्टी र आफ्नो पार्टीको संगठनभित्र पनि उनको प्रभाव निकै प्रभावकारी छ । लिङ्देनको छेउमा उनी परिपक्व नेता हुन र उनको जित्ने आधार पनि थुप्रै छ ।
थापाको जित्ने आधार भएपनि लिङदेनले लोहनी सहितका युवा पुस्ता लोभ्याएका छन् । त्यसैले प्रर्तिस्पर्धा चर्को हुने दखिन्छ । राजनीतिमा यसले नै जित्न सक्छ भन्ने ठोकुवा गर्न भने सकिँदैन ।