काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा दुईवटा प्यानल देखा परेको छ । निवर्तमान अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङदेनको प्यानल घोषणा भएको छ । दुबै प्यानलले आ–आफ्नो प्यानलबाट उम्मेद्वारहरु टुंगाउने तयारी गरिरहँदा एक पदमा भने साझा उम्मेद्वार बनेका छन् चितवनका नेता विक्रम पाण्डे ।
उपाध्यक्ष पदका लागि दुबै प्यानलमा विक्रम पाण्डेको नाम देखिएको छ । नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा हुने भएको छ । दुबैको प्यानलमा परेका विक्रम पाण्डे साझा उम्मेद्वार हुँदा निर्वाचित हुने संभावना बलियो बनेको छ ।
४ उपाध्यक्ष र तीन महामन्त्रीका लागि दुबै प्यानलले उम्मेदवारको टुंगो लगाएको हो । थापाको प्यानलबाट पाण्डेसहित ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङ पुरुष उपाध्यक्षका उम्मेदवार छन् । महिला उपाध्यक्षको कोटामा रोशन कार्की छिन् । यसैगरि, महामन्त्रीमा भुवन पाठक, भाष्कर भद्रा र कुन्ती शाही उम्मेद्वार छन् ।
यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ ।