काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजय भएसँगै निवर्तमान अध्यक्ष थापाले धाराप्रवाह रुपमा ट्विट गरेका छन् ।
लामो समयदेखि राप्रपामा हालीमुहाली गर्दै आएका थापाले पूर्वराजालाई देखाउँदै कहिले श्रीमदभागवतको प्रसंग र गीतको प्रसंग निकाल्दै रोष प्रकट गरेका हुन् ।
मतदानको मतपरिणाम सार्वजनिक भएलगत्तै आइतबार बिहानबाट यो सामग्री तयार पार्दासम्म उनले ६ पटक ट्विट गरेका छन् ।
हेरौँ, उनका रोषपूर्ण ट्विट
‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’
पहिलो टुइट लगत्तै अर्काे टुइटमा भने निर्मल निवासको हस्तक्षेपका कारण आफूले हार व्यहोर्नुपरेको भाव प्रकट गरेका छन् । उनले लेखेका छन्,
‘पार्टीको आन्तरिक प्रतिष्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । Congrats @GBBShah. Thank you मैले राहत र उन्मुक्ति पाएको छु ।’
यसैगरी, उनको तेस्रो ट्विटमा भने आफू पराजय भएको स्वीकार गर्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना दिएका छन् । उनले सोही पोष्टलाई दुईपटक ट्विट गरेका छन् ।
‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीमा सम्पूर्ण साथीहरुमा आभारी छु ।’
लिङ्देनको विजयलाई लिएर पूर्वयुवराज्ञी हिमानी शाहले ट्विटमा लिङ्देनलाई दिएको बधाईमा समेत थापाले रिट्विट गरेका छन् । चाँडै राजसंस्था पुन: स्थापना हुने भन्दै थापाले हिमानीलाई पनि बधाई दिएका छन् ।
यस्तो थियो, हिमानीको ट्विट,
'अवसरवाद, नातावाद, कृपाबादको अन्त्य गर्न सफल हुनुभएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्टवादी नेता पाउन सफल भएको छ ।'
‘अब चाँडै राजसंस्था पुन स्थापना हुने भएको हुँदा@HimaniSh123 लाई पनि हार्दिक बधाई तथा शुभकामना ।’
देशमा राजसंस्थाको अन्त्य भए पनि थापाले राजसंस्थालाई आत्मसाथ गर्दै अघि बढेको करिब १३ वर्ष बित्न लागेको छ । लामो समयदेखि राप्रपा पार्टीको अस्तित्व जोगाउन लागि परेका उनले यो हारलाई सहर्ष स्वीकार गर्न भने सकेका छैनन् । यो वास्वविकता उनको धारा प्रवाह ट्विट देखाउँछ । पछिल्लो पटकको उनको ट्विटले भने उनी समर्थक जोकोहीको मनमा पनि चिसो पस्न सक्छ ।
राप्रपाको नवनिर्वाचित अध्यक्ष लिङ्देनले पदको शपथग्रहण गर्दा पूर्वअध्यक्ष थापाको भने उपस्थिति देखिएन । सोही सयम थापाले यस्तो ट्विट गरेका छन्,
‘मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झना मन लाग्यो,
पोहोर साल खुशी फाट्दा
जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो
त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ?’
थापाले गरेको लगातार ट्विटलाई हेर्ने हो भने उनी अध्यक्ष पदबाट बाहिरिन नचाहेको देखिन्छ । ट्विटलाई हेर्दा उनको हार निर्मल निवासको हस्तक्षेपका कारण भएको भन्ने प्रष्ट हुन्छ । हारप्रतिको उनको यो वितृष्णले अबको उनको यात्रा कतातिर होला ? यो भने आगामी दिनमा देखिँदै जालान् ।