काठमाडौं । काठमाडौं प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले तत्काल लकडाउन हुने सम्भावना नरहेको बताएका छन् ।
नेपालमा ओमिक्रोन भेरियन्टका दुईजना सङ्क्रमित फेला परेसँगै उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणबाट चासो व्यक्त भइरहेका बेला रिजालले क्विक नेपालसँग सो बताएका हुन् । सो क्रममा उनले सम्भावित जोखिम न्यूनीकरणका लागि आफूहरु सतर्क रहेको बताए ।
त्यसैगरी, स्वास्थ्य मन्त्रालयले तत्काल लकडाउनमा जाने योजना नभएको बताएको छ ।
सोमबार दक्षिण अफ्रिकाबाट मङ्सिर ३ मा नेपाल आएका ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा रहेका ७१ वर्षीय नेपाली सो भाइरस पुष्टि भएको छ । दुवै संक्रमितले कोरोनाविरुद्धको खोप लगाएका थिए ।
छिमेकी मुलुक भारतमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिसकेको छ । भारतमा ११ संक्रमित रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । नयाँ भेरियन्ट विश्वभरका करिब ४० बढी देशमा फैलिइसकेको छ।
कुन-कुन देशका नागरिकलाई नेपाल प्रवेशमा निषेध
सरकारले नेपालमा ओमिक्रोन भेरियन्टको जोखिम न्यूनीकरण भन्दै ९ देशका नागरिकलाई नेपाल प्रवेश गर्न निषेध गरेको छ ।
मंसिर १३ मा बसेको मन्त्रिपरिषद बैठकले उल्लेखित देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको हो । नेपालले प्रतिबन्ध लगाएका देशहरुमा दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङ देश छन् ।
त्यसअघि गृह मन्त्रालयले मङ्सिर १२ मा अफ्रिका महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।