काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४औं महाधिवेशनमा नेताहरुले शुभकामना दिने क्रममा अनौथौं क्रियाकलापहरु निरन्तर देखा परिरहेको छ । एउटै मञ्चमा तीन पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री सहभागी थिए । यस्तै तत्कालिन नेकपा पार्टी विघटन पछि पहिलो पटक केपी शर्मा ओली, प्रचण्ड र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी थिए ।
एउटै मञ्चमा रहेर कांग्रेस महाधिवेशनलाई शुभकामना दिने क्रम चलिरह्यो । राजनीतिक दलको हैसियत अनुसार क्रमश सानो दलहरुबाट शुभकामना मन्तव्य दिन शुरु भएको थियो । नेकपा (एकीकृत समाजवादी) का नेता माधव कुमार नेपालले राप्रपालाई गालि गर्दै आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि राप्रपालाई गाली गर्ने र कांग्रेसको गुणगान गाउनमै आफ्नो समय खर्चेको थियो । माधव कुमार नेपाल र प्रचण्डले आफ्नो धारणा राखिरहँदा केपी शर्मा ओली मञ्चमै आसिन थिए ।
तर जब केपी शर्मा ओलीले बोल्ने पालो आयो एकासी माधव कुमार नेपाल उठेर मञ्चबाट विदा भए । केपी ओलीले बोल्दै गर्दा प्रचण्ड केही समय मञ्चमै थिए । जब केपी ओलीले आफ्नो धारणा अघि बढाए तब प्रचण्ड पनि मञ्चबाट विदा भए ।
केपी शर्मा ओलीले बोल्ने बेला दुई नेताहरु एकपछि अर्को गरि मञ्चबाट किन विदा भए भने विषयमा धेरैले अड्कल लगाएका छन् । केपी ओलीले आफुहरुलाई होच्याएर बोल्ने र आफुहरुप्रति पेचिलो धारणा राख्ने आशंकमा नेता नेपाल र प्रचण्ड मञ्चबाट विदा भएको हुनसक्ने धेरैको अनुमान छ ।
राजनीतिक पार्टीको नेतृत्वमा रहेका नेताहरु राजनीतिक कार्यक्रममा अरुलाई सुन्न सक्ने क्षमता नराख्नु भनेको ओलीसँग कमजोर हुनु सरह हो । त्यो दृश्य नेपाली कांग्रेसको महाधिवेशनमा देखा परेको छ । बोल्ने क्रममा ओलीले प्रचण्ड र नेपाललाई गालि त गरेनन् तर साना दलहरुले एक्लै हिड्न डराएर अरुको साथ खोजिरहेको र मुख ताकिरहेको भन्दै आफ्नो दलको नीति र निर्देशनलाई फलो गर्न सुझाए ।