काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा बन्द सत्रको पहिलो दिन आज मनोनयन दर्ताको कार्यसूची अन्तर्गत नेताहरुले मनाेनयन दर्ता गरिरहेका छन् ।
महाधिवेशनमा विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दिएका छन् । यसअघि कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।
निधिले कुनै प्यानल बिना सभापतिमा उम्मेदवारी दिएका हुन् । यसअघि उनले रामचन्द्र पौडेलको नाममा सर्वसम्मति गर्न हिजो प्रस्ताव गरेका थिए।
सभापति पदमा प्रकाशमान सिँहले पनि उम्मेदवारी दिएका छन् । उनको टिममा महामन्त्री पदका उम्मेदवार विश्व प्रकाश शर्मा छन् । शर्मा लामो समय शेरबहादुर देउवा समूहमा थिए । देउवाले शर्मालाई प्रवक्ताको जिम्मेवारी पनि दिएका थिए । तर अहिलेको महाधिवेशनमा देउवाको टिममा उनी नअटेपछि सिँहको टिमबाट उम्मेदवारी दिएका हुन् ।
सिँहको टिमबाट पूर्व उपप्रधानमन्त्री समेत रहेकी सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दिएकी छिन् । उनले कोइराला परिवारबाट पृथक भएर सिँहसँग एकता कायम गरेकी हुन् ।
कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले पनि उम्मेदवारी दिएका छन् । शेरबहादुर देउवाले आफ्नो प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारले उम्मेदवारी दिएका छन् । महामन्त्री पदमा डा। प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् ।
देउवाको समूहबाट सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाले दिएका छन् ।
यस्तै खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासीपूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन र गोविन्दबहादुर शाह अछाम उम्मेदवार छन् ।
यस्तै, खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरा उम्मेदवारका रुपमा छन् ।
कांग्रेसको संस्थापन इतर समूहका सभापति उम्मेदवार डा. शेखर कोइरालालाई बरिष्ठ नेता रामाचन्द्र पौडेल र महामन्त्री डा। शशांक कोइरालाको समर्थन प्राप्त छ । उनको समूहबाट महामन्त्रीमा युवा नेता गगन थापा रहेका छन् ।
कोइराला प्यानलको उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।
यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिएका छन् । सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बनेका छन् ।
चालिसे खसआर्यबाट, लामा जनजाति, पन्त महिला, यादव मधेसी, चौधरी थारु समुदायबाट र मियाँ मुस्लिम समुदायबाट उम्मेदवार बनेका छन् ।