ज्ञानेन्द्रले प्रचण्डको उक्साहमा दलमाथि प्रतिबन्ध लगाएका हुन् : ओली

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड माधवकुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका छन् ।

बुधबार एमालेले मनोनीत केन्द्रीय कमिटी सदस्यलाई शपश ग्रहण गराउने क्रममा उनले सो संज्ञा दिएका हुन् । 

ओलीले भने, ‘नियन्त्रित अस्थिरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थीरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् ।’

अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच जनयुद्धकालीन समयमा साँठगाँठ भएको बताएका छन् । सो क्रममा उनले प्रचण्डकै सहयोगमा पूर्वराजा ज्ञानेन्द्रले दललाई किनारा लगाएर शासन हातमा लिएको बताए । 

‘मा १९ मा पार्टीहरूको कुनै मतलबै छैन । आफैँले घोषणा गरेर आफ्नै हातमा शासन लिएर ज्ञानेन्द्रले उधुम मच्चाए’, बुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले भने, ‘ज्ञानेन्द्रले उधुम मच्चाउँदा प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर सहमतिका साथ त्यो उपद्रो भएको थियो ।’


उनले प्रचण्ड र ज्ञानेन्द्रबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको समेत ओलीले जिकिर गरे । ‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भयो । के सहमति भएको थियो कि ज्ञानेन्द्रले भन्नुपर्यो कि प्रचण्डले भन्नुपर्यो’, ओलीले भने, ‘कसका विरुद्ध सहमति भएको थियो ? त्यस्ता सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.