बन्द रसुवागढी नाकाले प्रभावित सांस्कृतिक सम्बन्ध  
"बन्द रसुवागढी नाकाको असर सेवामुलक क्षेत्रमा मात्र नभएर सांस्कृतिक सम्बन्धमा पनि परेको छ ।"

काठमाडौँ । नेपाल चीन सम्बन्धको औपचारिक सुरुवात सन् १९५५ अगस्ट १ तारिक अर्थात २०१२ साउन १७ गते भएको हो । यो औपचारिक दौत्य सम्बन्ध स्थापनाका लागि २०१२ साउन १२ गतेदखि दुई देशका प्रतिनिधिहरुले काठमाडौँमा छलफल गरेका थिए । यो छलफलको निष्कर्ष स्वरुप साउन १७ गते औपचारिक सम्बन्ध कायम भएको हो ।

यस दौत्य सम्बन्ध कायम गर्न नेपालका तर्फबाट नेपाल सरकारको प्रतिनिधि मण्डलका नेता गुञ्जमान सिँहले हस्ताक्षर गरेका थिए । उनी प्रिन्सिपल अफ रोयल एडभाइजर थिए । यस दौत्य सम्बन्ध कायम गर्न चीनका तर्फबाट युवान चुङ स्यानले हस्ताक्षर गरेका थिए । उनीले चीन जनगणराज्यको प्रतिनिधि मण्डलका नेताका हैसियतमा यस सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो सम्झौताले दुई देशबीच दुई विषयमा सहयोग बृद्धि हुने अपेक्षा राखेको थियो । अपेक्षा राखेको विषय आर्थिक र सांस्कृतिक आदान-प्रदान थिए । सम्झौतामा भनिएको छ कि- दुबै सरकारको यो विश्वास छ कि उक्त दौत्य सम्बन्धको स्थापनाद्वारा दुई मुलुकको बीचमा सांस्कृतिक र आर्थिक सहयोगको उत्तरोतर बृद्धि हुनेछ ।

यस सम्झौता बमोजिम नेपालमा दुई देशका राजदूतहरु राख्ने सम्झदारी कायम भएको हो । सामान्य दौत्य सम्बन्ध कायम गर्ने इच्छा भएका कारण पनि यो सम्झौता कायम भएको हो । सम्झौतामा भनिएको छ, कि आपसमा मैत्री सम्बन्ध कायम गर्ने इच्छा भएकाले नेपाल र चीनको बीच सामान्य दौत्य सम्बन्ध कायम गर्न र राजदूतहरुको आदान-प्रदान गर्न दुबै सरकारले मञ्जुर गरेका छन् ।

नेपाल र चीनका बीच आपसमा सम्बन्ध सञ्चालन गर्न पाँच सिद्धान्त निर्धारण गरिएको छ । जसमा पहिलो सिद्धान्तको रुपमा एकले अर्कोको सार्वभौमिकता र राज्य क्षेत्रको अक्षुण्णताको सम्मान गर्ने उल्लेख छ । त्यस्तै दुईमा एक देशले अर्को देशमाथि आक्रमण नगर्ने अर्थात अनाक्रमण छ । तेस्रोमा आर्थिक, राजनीतिक र सैद्धान्तिक रुपमा कुनै कारणबाट पनि एकले अर्काको देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने उल्लेख छ ।

चौंथोमा समानता र पारस्परिक हित उल्लेख छ । एक देश र अर्को देश आधारभूत रुपमा समान छन् । उनीहरुबीच कुनै ठूलो सानोको भेद कायम नगरिने विषयलाई यो सिद्धान्तले प्रष्ट गरेको छ भने एक देशले अर्को देशको राष्ट्रिय हितको प्रतिकूल हुने गतिविधिमा संलग्न नहुने विषयलाई पनि यसले उल्लेख गरेको छ । यस्तै एक देशले अर्को देशको अस्तित्व अस्वीकार नगरी शान्तिपूर्ण सहअस्तित्वलाई कायम राख्ने उल्लेख छ ।

नेपाल र चीनबीच पञ्चशीलको सिद्धान्तका आधारमा सम्बन्ध कायम भएको छ । यसरी पञ्चशीलको आधारमा सम्बन्ध कायम हुनु अघि पनि नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध रहेको पाइन्छ । यस अघि पनि नेपाल चीनबीच आर्थिक र सांस्कतिक सम्बन्ध कायम भएको पाइन्छ । यस्तो सांस्कृतिक सम्बन्ध कायम हुनुमा नेपालको उत्तरी सीमा नाका रसुवा जिल्लाको भूमिका महत्वपूर्ण थियो ।

इसाको सात्तौँ शताव्दीमा नेपालबाट चीनको तिव्वत क्षेत्रका राजा स्रोङचन गम्पोसँग विवाह गरेकी लिच्छविकालीन राजा उदयदेवकी छोरी भृकुटी यही रसुवागढी नाका भएर तिव्वत गएको इतिहासमा उल्लेख भएको पाइन्छ । त्रिभुवन विश्वविद्यालय, नेपाल र दक्षिण एसियाली अध्ययन संस्थान (सिनास) ले २०३० सालमा प्रकाशित गरेको धनव्रज बज्राचार्यको 'लिच्छविकालका अभिलेख'मा यसबारे उल्लेख गरिएको पाइन्छ ।

सन् १९८७ मा प्रकाशित रोलम्बाको दोस्रो अंकमा भुवनलाल प्रधानको 'भृकुटी अंशुवर्माको छोरी होइन' भन्ने लेखमा पनि उल्लेख भएको पाइन्छ । लेखमा भनिएको छ- तत्कालीन लिच्छवि राजा शिवदेवले बहिनीका छोरा भानिज अंशुवर्मालाई गद्दीका सबभन्दा नजिकका उत्तराधिकारी र योग्य भएको हुनाले आफू जीवित छँदै राज्यको सम्पूर्ण कामको उत्तराधिकार प्रदान गरेका थिए । यिनका दुई छोरा थिए उदयदेव र ध्रुवदेव । अंशुवर्माको निधनपछि उदयदेव राजा भए । उदयदेवले सन् ६३९ मा आफ्नी १६ वर्षकी छोरी भृकुटीको विवाह स्रोङचङ गम्पोसँग गरिदिएका थिए ।

स्रोङचङ गम्पोभन्दा पाँचपुस्ता अघिका सन् १७३ का राजा ह्ला थोथोरिङ चङको पालामा ह्लासा गई नेपालका दुई विद्वानले बुद्धका उपदेशका पुस्तक मणिका बोम उक्त राजालाई उपहार स्वरुप दिएको प्रसङ्ग पनि इतिहासमा आउँछ । यसबाट पनि के कुरा प्रष्ट हुन्छ भने नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम हुनु अघि सूमधुर सांस्कृतिक सम्बन्ध थियो । सम्बन्ध विस्तारको एउटा क्षेत्र तिव्वत थियो । तिव्वतसँगको छिमेकी नेपाली जिल्ला रसुवा नाका यसको प्रवेशद्वार थियो ।

नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारको सन्दर्भमा चीनबाट नेपाल आएका दुई भिक्षुहरुको भूमिका महत्वपूर्ण रहेको छ । सन् ४०५ मा नेपाल आएका चिनियाँ भिक्षु फा स्यानले कपिलवस्तु, लुम्बिनी र कुशीनगर तीर्थस्थलहरुको भ्रमण गरेर फर्किएका थिए । फर्किने क्रममा उनले काश्मिरको बाटो प्रयोग गरेका थिए । उनले काश्मिरको बाटो प्रयोग गरेपनि बुद्ध धर्मको प्रचारमार्फत नेपाल चीनबीचको सांस्कृति सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान गरेका छन् । अर्का भिक्षु हुन् ह्वेनसाङ । उनले नेपालका विभिन्न बौद्ध स्थलहरुको भ्रमण गरी चीनमा बुद्ध धर्मको विस्तारमा महत्वपूर्ण योगदान गरेका हुन् ।

नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध विस्तारको एउटा केन्द्र रहेको रसुवागढी नाका दौत्य सम्बन्धको विस्तार अघि नै सामरिक स्थलको रुपमा विकसित भएको बुझाइ नेपाली प्राज्ञिक जगतमा पाइन्छ । चीनको रेनमिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरिरहेका नरेश ज्ञवालीको बुझाइ पनि यस्तै छ । 'तिव्वतमा नेपालका मल्लकलीन मुद्रा 'टक' प्रचलनमा थिए । मल्ल राजाहरुको टकमा चाँदीको भाग कम हुँदै गएका थिए । सोही टक तिव्वतले नेपालतर्फ फिर्ता गर्न सुरु गरेपछि सन् १७७५ मा कोदारीपुलपारी खासामा एउटा सम्झौता भयो । जहाँ नेपाल चीन आदान-प्रदानको पूर्व तर्फको बाटो बन्द गरी कुति र केरुङतर्फको बाटो मात्र चलाउने उल्लेख छ ।' सम्झौता नमान्ने पक्षले ५० धार्नी सुन तिर्ने विषय पनि यो सम्झौतामा समेटिएको छ । यहाँ उल्लेख भएको केरुङ तर्फको बाटो भनेको रसुवागढी नाकाको बाटो हो ।

गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजय गर्न सबैभन्दा पहिला नुवाकोटमाथि हमला गर्नुमा हालको रसुवागढी नाका जिम्मेवार रहेको विचार लेखक शिव भण्डारीको छ । 'काठमाडौँ उपत्यकाको सबै रसदपानी रसुवागढी नाका भएर जाने भएकाले नुवाकोटमाथि कब्जा गरेर रसदपानी रोक्न सक्दा काठमाडौँ जित्न सकिने रणनीतिअन्तर्गत नुवाकोट कब्जा भएको हो ।' उनको बुझाइमा बहादुर शाहको पालामा भएको युद्धमा होस् या जंगबहादुर राणाको पालामा भएको युद्धमा नेपाली पक्षले यही रसुवागढी नाका भएर सेनालाई आवश्यक रसदपानी आपूर्ति गरेको हो ।

नेपाल चीनबीच दौत्य सम्बन्ध स्थापनापछि पनि रसुवागढी नाका सांस्कृतिक सम्बन्धको सेतुको रुपमा रहेको छ । अहिले नेपाल चीनबीच सम्बन्ध बहुआयमिक भएको छ । सरकारका बीचमा, प्राज्ञिक संस्थाहरुको बीचमा, जनस्तरमा सम्बन्ध विकसित भएको छ ।

चीनको तिव्वत क्षे त्रमा ३० लाखभन्दा धेरै जनसंख्याले बौद्ध धर्म मान्दछन् । कोभिडको प्रकोप अगाडि यही रसुवागढी नाका भएर नेपालको लुम्बिनी आउने चिनियाँको संख्या व्यापक थियो । साथै यही रसुवागढी नाकाबाट तिव्वतको कैलाश मानसरोबर जानेको संख्या पनि व्यापक थिए । यसबाट के देखिएको थियो भने रसुवागढी नाका प्राचीन समयदेखि हालसम्म पनि सांस्कृतिक सेतुको रुपमा रहेको  छ । तर कोभिड महामारीले गर्दा यो नाकाबाट आवात-जावत गर्ने चिनियाँको संख्या शून्यमा घटेको छ । जसले गर्दा रसुवासहित नेपालका सेवामूलक क्षेत्र संकटमा परेका छन् । सेवामूलक क्षेत्र मात्र संकटमा परेका छैनन्, जसले नेपाल चीनबीचको सांस्कृतिक सम्बन्धलाई पनि असर पारेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.