काठमाडौं । सरकारले आयात प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहन गर्ने भाषण गरे पनि मुलुकको व्यापारघाटा भने डरलाग्दो अवस्थामा पुगेको छ ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा देशको वैदेशिक व्यापारघाटा ५४ दशमलव ७० प्रतिशतले वृद्धि भई ७ खर्ब ३५ अर्ब पुगेको छ । यस अवधिमा नेपालबाट १ खर्ब २ अर्ब बराबरको निर्यात भएपनि आयात भने ८ खर्ब ३८ खर्ब रुपैयाँ बराबरको भएको छ ।
गत वर्षको तुलनामा यस अवधिमा आयात ५९ दशमलव ५५ प्रतिशत र निर्यात १०५ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ । गत आवको मंसिर सम्ममा ५ खर्ब २५ अर्ब ४९ करोडको आयात तथा ५० अर्ब ५ करोडभन्दा धेरैको निर्यात भएको थियो ।
उच्च आयातका कारण मुलुकको शोधानान्तर घाटा उच्च हुनुका साथै वैदेशिक मुद्रा संचिति पनि घट्दै गएको छ । उच्च आयातका कारण देशको भुक्तानी सन्तुलन नै बिग्रन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदी लगायतका बहुमूल्य र सवारीसाधान, श्रृंगार लगायतका विलासी सामानको आयातमा निरुत्साहित गर्ने नीति लिएको छ ।