विभागले प्रधानन्यायाधीश राणाको सम्पत्ति छानबिनका लागि टोली खटाउने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ। 

प्रधानन्यायाधीश राणाको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी परेको छ । र, सोही उजुरीका आधारमा विभागले राणाको सम्पति छानबिनका लागि टोली खटाउने तयारी गरेको हो ।

आइतबार बृहत् नागरिक आन्दोलनका तर्फबाट वरिष्ठ चिकित्सक गोविन्द केसीले राणाको, उनकी पत्नी, भाइ, नातेदारलगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै उजुरी दिएका थिए। 

यसअघि न्यायालय सुद्धीकरणको माग गर्दै धर्नामा रहेका कानुन व्यवसायीले राणाले अकुत सम्पति आर्जन गरेको आरोप लगाउँदै आएका थिए ।

प्रधानन्यायाधीश राणाको सम्पत्ति छानबिनका लागि बैंकहरूको कारोबार तथा मौज्दात हेर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गरेको, र जग्गा किनबेचको विवरण हेर्न मालपोत कार्यालयलाई पत्राचार गर्ने तयारी गरेको बुझिएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.